(१) दफा ९क. अन्तर्गतको अपराध भएमा वा हुन लागेमा अपराधी वा अभियुक्तलाई विमानस्थलको अधिकारीहरू, वायुयानका चालकहरू वा सम्बन्धित हवाई यातायात सेवाका अधिकारीहरूले अपराध भएको वा हुन लागेको देख्ने वा अपराधी वा अभियुक्त यो व्यक्ति हो भन्ने विश्वास लिने कारण भई विश्वास लिने जुनसुकै व्यक्ति, प्रहरी वा नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्नेछ र निजहरूले पक्राउ गरेपछि तुरुन्त प्रहरीलाई बुझाई दिनु पर्छ ।
तर त्यस्तो अपराधी वा अभियुक्तलाई पक्राउ गर्दा यात्रु वा अन्य व्यक्तिहरूको जीवनको खतरा हुने भएमा वा वायुयान वा हवाई परिवहन सुविधा (फेसिलिटिज) मा ठूलो क्षति पुग्ने आसन्न स्थिति भएमा प्रहरी र सुरक्षा अधिकारी बाहेक अरूले भए प्रहरी वा सुरक्षा अधिकारीको अनुमतिले मात्र पक्राउ गर्ने कारवाही गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हवाई अड्डाको अधिकारीहरू, प्रहरी, सुरक्षा अधिकारीहरूले पक्राउ गर्न सशस्त्र प्रहरी, सुरक्षा अधिकारी र नेपाली सेना वा अन्य सरकारी र गैर सरकारी व्यक्तिको मद्दत माग्न सक्नेछ र त्यस्तो मद्दत मागेमा मद्दत दिनु त्यस्ता सबैको कर्तव्य हुनेछ ।
(३) यस दफा बमोजिम पक्राउ परेको अपराधी वा अभियुक्त यदि विदेशी राष्ट्रको नागरिक भए निजलाई आफ्नोे मुलुकको नजिकको उपयुक्त प्रतिनिधिसंग सम्पर्क स्थापित गर्ने मौका र सहयोग दिनु पर्नेछ र साथै त्यस्तो पक्राउको खबर र अन्य प्रारम्भिक जाँचबुझ गरी सकेपछि त्यस्तो जाँचबुझको ठहर र यस ऐनको अधिकार क्षेत्र प्रयोग गर्ने वा नगर्ने बारे समेतको जानकारी सम्बन्धित राष्ट्रहरूलाई दिनु पर्छ ।